उप्रेती समाजसेवा समिति

उप्रेती समाज नेपाल

“सबैका लागि : सधैँका लागि”

उप्रेती समाजसेवा समिति

नेपालका अधिकांश जिल्लाहरू र विश्वका विभिन्न देशहरूमा विविध पेशा व्यवसाय अँगाली बसोबास गरिरहेका समस्त उप्रेतीहरू एकताबद्ध भई सामाजिक भलाइ र देशको उन्नति एवं विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न उप्रेती समाजसेवा समितिको स्थापना भएको हो । यो समाज सामुहिक क्रियाशीलताका लागि समस्त उप्रेतीहरूको साझा थलो हो ।उप्रेती समाजसेवा समितिले “सबैका लागि, सधैँका लागि” भन्ने मूल नारालाई आत्मसात गरेको छ | विगतको अनुभव, वर्तमानको क्रियाशीलता र भविष्यका लागि कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन उप्रेती समाजसेवा समितिको कार्यशैली मानिएको छ ।

 

हाम्रो बारेमा

मानवजातिको समग्र विकासका क्रममा तिनीहरूको भिन्नभिन्न ठाउँको बसोबासका कारण भिन्नभिन्न देशहरू बने। विभिन्न जाति, वंशको परम्परा विकास भयो । एकैठाउँमा नअटेर, एकैठाउँमा भेटिने खानेकुराले नपुगेर तिनीहरू विभिन्न ठाउँहरूमा छरिन थाले । पूर्व-पश्चिम उत्तर-दक्षिण जताजता हिँडे त्यतै त्यतैका सजिला लाग्ने ठाउँहरूमा बसोबास गर्न थाले । प्राचीन भारतमा पनि उनीहरूको बसोबास हुन थाल्यो । प्राचीन भारतमा बसेकाहरू मध्ये ‘भार्म्याश्व’ नामका एक आर्य पाञ्चाल (हालको पंजाब) का राजा भए । उनका छोरा मुद्गल भने राजकाजको जिम्मेवारी छाडेर अध्ययन र तपस्यातर्फ लागि ऋषि बन्न पुगे । उनका छोरा मौद्गल्य पनि ऋषि नै बने । यिनीहरु राजपुरोहित मानिए । यिनै ऋषि मौद्गल्यको वंशीय हाँगो मध्येको एउटा हाँगोका सन्तानहरू उप्रेतीहरू हुन् ।

राजा भार्म्याश्वका सन्तानहरु ऋषि, राजपुरोहित हुँदै ६७ पुस्तामा आइपुग्दाका सन्तानको नाम लालचन भट्ट थियो । लालचनका छोराहरू इला, विषा र वासु थिए । इलाका जेठा छोरा उपरति थिए । भनिन्छ तिनै उपरतिका सन्तानहरू उप्रेती भए । तिनै उप्रेती सन्तानहरू मध्येका पुर्खु उप्रेतीले विक्रम संवत् १४९७ मा सिम्ला राज्यको चन्द्रवंशीय राजा धामदेवबाट ताम्रपत्र प्राप्त गरेको तथ्य विद्वान अनुसन्धानकर्ता, तथा इतिहासकारहरूले उल्लेख गरेको पाइन्छ । आर्य जातिको उप्रेती हाँगो सोह्रौं शताब्दीको पूर्वार्धतिर आजभन्दा लगभग साढे पाँच सय वर्ष अगाडि भारतको उत्तराञ्चल प्रदेशको पिथौँरागढबाट नेपाल प्रवेश गरेको हो भन्ने तथ्य इतिहासमा उल्लेख छ । नेपाल प्रवेश गर्ने पुर्खाका रूपमा पिथौरागढ निवासी पूर्वज शिवशंकर उप्रेती र उनका छोरा रघुनाथ उप्रेतीको नाम अङ्कित छ ।

शिवशंकर पुर्खुका छोरा थिए भने यिनका जेठा छोरा रघुनाथ, माहिला विश्वेश्वर, साँहिला रामेश्वर र नाम थाहा नभएका कान्छा गरी चारजना छोराहरू थिए । सबै छोराहरू विद्वान पण्डित कहलिएका थिए । बुबा शिवशंकर र जेठो छोरा पं. रघुनाथ भारतबाट सुदूरपश्चिमको मध्यपहाडी भूमि हुँदै हालको काभ्रेपलान्चोक जिल्लाको कालिन्जोर (वर्तमान पाँचखाल नगरपालिका-१३, रघुनाथपुर) मा आई बसोबास गर्न थाले । माहिला छोरा विश्वेश्वरका सन्तान भारतको सिम्लामा फैलिए, साहिला रामेश्वरका सन्तानहरू भारतको अलमोडाबाट फैलिए । कान्छाका सन्तानहरूले भारतकै चम्पावत क्षेत्रलाई आफ्नो बसोबास स्थल बनाए । रघुनाथकी जेठी श्रीमतीका छोराहरू केशव र मधु डोटीतिर गएका कारण नेपालको सुदूरपश्चिम र पश्चिमी क्षेत्रमा उप्रेतीहरूले फैलिने अवसर प्राप्त गरेको देखिन्छ । कोहीको बसोबास काठमाडौँमा पनि भएको छ । कान्छी श्रीमतीका एक्ला छोरा पण्डित भगिरथका भने पं. भरत, पं. भार्गव, पं. भवदेव, पं. रामचन्द्र (रामु) र पं. महादेव गरी पाँच छोराहरू थिए । जसका सन्तानहरू मध्य नेपाल, पूर्वी नेपाल र भारततिर पनि बसोबास गरिरहेका छन् ।

समयको गतिसँगै नेपाल र भारतका विभिन्न स्थानहरूबाट छरिदै यिनै पूर्वजका उप्रेती सन्तानहरू नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानहरूमा सघन एवं पातलो बसोबास सहित फैलिएका छन् । सिङ्गो नेपालको ६७ प्रतिशत भन्दा बढी जिल्लाहरू (५२जिल्ला) मा बसोबास गरिरहेका उप्रेतीहरूको भारतको पश्चिम बंगालका दार्जिलिङ, खर्साङ, कालिङ्पोङ, सिलिगुडी, डुवर्स आदि ठाउँहरू र उत्तराखण्ड, सिक्किम, आसाम, मेघालय, दिल्ली, राजस्थान एवं मणिपुरलगायतका राज्यका विभिन्न ठाउँहरूमा जताततै बसोबास रहेको पाइन्छ । भुटान, म्यानमार, थाइल्यान्डमा समेत उप्रेतीहरूको बसोबास रहेको छ । वर्तमान समयको विश्वव्यापीकरणको सिलसिलामा अस्थायी र स्थायी बसोबासका क्रममा उप्रेतीहरू एशियाका अन्य विभिन्न देशहरू र युरोपेली, अमेरिकी एवं अफ्रिकी देशहरूमा समेत पुगेका छन् । बसोबास गरिएका स्थानहरूका कारण उप्रेतीहरूले बोल्ने भाषा नेपाली, हिन्दी, कुमाउनी, गढवाली, अङ्ग्रेजी आदि छन् ।

नेपालका विभिन्न ठाउँमा बसोबास गरिरहेका उप्रेती थरका नेपालीहरूले नेपाल राज्यको परिचय निर्माण र विकासका लागि राज्यका शैक्षिक, प्रशासनिक, आर्थिक, राजनीतिक, सामाजिक आदि विभिन्न सरकारी एवं गैरसरकारी क्षेत्रमा रहेर महत्वपूर्ण योगदान गरिरहेका छन् । उप्रेतीहरूद्वारा भारत, भुटान र म्यानमारमा पनि आर्थिक, सामाजिक, राजनीतिक लगायतका विभिन्न क्षेत्रदेखि राज्यका माथिल्लो निकायसम्म महत्त्वपूर्ण योगदान भइरहेको छ । त्यतिमात्र हैन उप्रेतीहरू अहिले विश्वभर फैलिएर विश्वका धेरै ठाउँहरूमा आ-आफ्नो क्षमता योग्यता र विज्ञताको प्रयोग गरिरहेका छन् ।

देश विदेशमा रहेका उप्रेतीहरूको क्षमता र विज्ञतालाई समूहगतरूपमा परिचित गराउँदै समाज सेवाका लागि लगाउने उद्देश्यका साथ विक्रम सम्वत् २०५२/०२/२० मा श्री उत्तमनाथ उप्रेतीको अध्यक्षतामा ‘उप्रेती समाजसेवा समिति’ नामक सामाजिक संस्था गठन भयो । यहीँबाट उप्रेतीहरूको संस्थागत परिचय र संगठित कार्य आरम्भ भयो । काठमाडौँमा केन्द्रीय कार्यालय रहने गरी दर्ता नम्बर५६९/ जि.प्र.का. काठमाडौँ उल्लेख भएको यो संस्था विक्रम सम्वत् २०५२/०७/२५ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत दर्ता भएको छ । श्री उत्तमनाथ उप्रेती, श्री नीलकण्ठ उप्रेती, डा. रामप्रसाद उप्रेती र ई.मोहनकृष्ण उप्रेतीको अध्यक्षतामा रहेका उप्रेती समाजसेवा समितिका कार्यसमितिहरूले विभिन्न स्थानमा रहेर विभिन्न पेसा व्यावसायमा सम्लग्न उप्रेती वन्धुहरूसँग सम्बन्ध विस्तार गर्दै संगठित गर्ने, संस्थालाई भौतिक एवं आर्थिकरूपमा मजबुत बनाउने र प्रकाशन एवं प्रसारणका माध्यमबाट यस संस्था र यसका कार्यहरूलाई अभिलिखित गर्ने र ब्यापक गराउने अनेकौं कार्य गरेका छन्। ‘उप्रेती समाजसेवा समिति’ वर्तमान अध्यक्ष सोभित उप्रेतीको नेतृत्वमा क्रियाशील छ । ‘उप्रेती समाजसेवा समिति’ नेपालका विभिन्न स्थानीय निकायसम्म विस्तार भइरहेको छ ।

अध्यक्षको सन्देश

उप्रेती समाजसेवा समिति

२०५२ सालमा स्थापना भएको उप्रेती समाजसेवा समितिले २४ बर्ष पुरा गरेको छ । यो समाजको पाँचौ कार्यसमितिले २०७६ साल श्रावण २५ बाट काम सुरु गरेको छ । यो कार्यसमितिको कार्यकाल ३ बर्षको हुनेछ । सामान्य गैह्र नाफामुलक सामाजिक संस्थाले भोगेका नियति यो संस्थाले पनि भोगेको छ । उप्रेतीहरुको पहिचानकोरुपमा स्थापित यो संस्थाले बर्तमानसम्म आइपुग्दा सहजताको अनुभूति गर्न सकेको छैन । आशा गरौ भोलिको दिनमा यो समाजले आजको नियति भोग्नु पर्ने छैन । यो संस्थाका गतिबिधिहरु प्रभावकारी ढंगले सन्चालन गर्न केन्द्रमा आफ्नो भवन र बलियो संचालनकोष आजकोे आवश्यकता हो । सधै मागेर खाने र अरुको भर पर्ने ब्यक्ति वा संस्थाको विकास संभव छैन भन्ने अवधारणा मननगरी हामीले सहयोग संकलनको अभियान सरु गरेकाछौ । यहाँहरुको सकारात्मक सहयोग रहेमा हामी यो अभियानमा सफल हुनेछौ भन्ने हाम्रो बिश्वास हो । स्पस्ट बिचार र आर्थिक पारदर्शिता हाम्रो बिश्वासका बलिया आधार हुनेछन् । आत्मप्रशंसा र बिज्ञापन हाम्रो प्राथमिकतामा पर्ने छैनन । कुर्सिको उज्यालोमा चम्किनु भन्दा आफ्नो उज्यालोले यो संस्थालाई चम्काउन हामी सक्रिय रहनेछौ । आशा गरौ यो समाजको भोलिको दिन मध्यान्हको सूर्यजस्तै उज्यालो हूनेछ । हाम्रो आगामी कार्यदिशा स्पस्ट छ । केन्द्रीय भवन ब्यवस्थापन र संचालनकोष स्थापना गर्न हाम्रा अलग अलग कार्यदल हुनेछन् । दुबै कार्यदलले समानान्तररुपमा काम गर्नेछन् । संचालनकोषमा जम्मा भएको रकमको ब्याजबाट समाजका दैनिक गतिबिधि संचालन हुनेछन् । भोलीका दिनमा यो समाज मागेर काम चलाउने अवस्थाबाट एउटा सवल सामाजिक संस्थाकोरुपमा स्थापित हुनेछ ।

स्वदेश र विदेशमा छरिएर रहेका उप्रेती बंशका सन्तानहरुलाई समेटेर सिङगो समाज र सामाजिकसेवाको क्षेत्रमा अग्रणी संस्थाकोरुपमा स्थापित हुन यहाँहरुको सकारात्मक सहयोग हाम्रो लागि अपरिहार्य आवश्यकता ठानेकाछौ । “उप्रेती समाज सबैको लागि, सधैको लागि” भन्ने मूल नारालाई सार्थक बनाउन समस्त उप्रेतीहरुको रचनात्मक सहयोगको लागि बिनम्र अनुरोध गर्दछु । बिजया दशमि २०७६ को हार्दिक शूभकामना !